नेपालले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता खेल्न थालेको १० वर्ष भइसकेको छ। तर यही वर्ष भारतविरुद्ध शतक प्रहार गर्दै ओपनर ब्याटर विनिता पुन नेपालको तर्फबाट पहिलो शतक बनाउने खेलाडी भइन्।
२०८० चैत्र १, बिहीबार
काठमाडौँ– २१ वर्षअघि। माछापुच्छ्रे गाउँपालिका–१ घाचोककी मञ्जु पुन र नन्दबहादुरलाई पहिलो सन्तान प्राप्त भयो। तर उनीहरू खुशी हुन सकेनन्। त्यसको कारण थियो– दृष्टिविहीन सन्तानको जन्म। आज तिनै दृष्टिविहीन विनिता पुनले आमाबुवाको खुशी फर्काएकी छन्। त्यति मात्र नभई देशकै नाम राख्न अग्रसर छिन्।
विनिताका बुवा नन्दबहादुर वैदेशिक रोजगारीमा जानेआउने गर्थे। परिवारलाई रेखदेख गर्ने जिम्मा उनकै थियो। तर बुवासँग नजिक हुन नपाउँदा विनिताले आफ्नो खेलाडी बन्ने चाहना बताउन पाएकी थिइनन्। उनलाई खेलकुद मन पर्ने भए पनि कुन खेलमा लाग्ने निर्क्यौल गर्न पनि सकेकी थिइनन्।
विनिताले ५ वर्षको उमेरमा विद्यालय जान शुरू गरिन्। घर नजिकैको हिमालयन इंलिस बोर्डिङ स्कुलमा ५ कक्षासम्मको अध्ययन गरिन्। घरबाट ४५ मिनेटको दूरीमा पर्ने पोखराको अमरसिंह विद्यालयमा दृष्टिविहीन र अपांगता भएकाहरूका लागि होस्टेल थियो। होस्टेलमा बस्ने व्यवस्था मिलेपछि कक्षा ६ बाट त्यही स्कुल पढ्न थालिन्।
त्यस स्कुलमा दृष्टिविहीन पुरुषहरूले क्रिकेट खेलिरहेको उनले थाहा पाइन्। “सकेजति पढ्नुपर्छ भन्ने मात्रै थियो तर पढेर भविष्यमा के गर्ने भन्ने थाहा थिएन,” उनी भन्छिन्, “दृष्टिविहिन पुरुषहरूले क्रिकेट खेलेको देखेपछि मलाई पनि क्रिकेट खेल्ने चाहना भयो। खेलाडी बन्ने इच्छा जागेर आयो।”
अब उनले अध्ययनको साथै दृष्टिविहीन पुरुषहरूसँग मिलेर क्रिकेट पनि अभ्यास गर्न थालिन्। खेलप्रतिको लगावले उनको क्षमता निखारिँदै गयो। पढाइसँगै खेललाई पनि निरन्तर अगाडि बढाइन्।
अम्मरसिंह माविको छात्रावासमा पुरुष खेलाडीहरूसँग क्रिकेट खेलिरहेको प्रशिक्षक रिजन प्रजुले देखे। उनी पहिलो पटकमा नै उनीसँग प्रभावित भए। “विश्वस्तरका खेलाडीमा भएको गुण र खेलप्रतिको हुटहुटी देखेँ,” उनी भन्छन्, “त्यसपछि दृष्टिविहीन पुरुषहरूसँगै उनलाई पनि प्रशिक्षण दिन थालेको हुँ।”
अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको यात्रा
नेपालमा २०६३ सालमा नेत्रहीन क्रिकेट संघ स्थापना भएपछि दृष्टिविहिन पुरुषकै टोलीमा महिलालाई पनि समावेश गरेर प्रतियोगिता खेलाउन थालिएको थियो। शुरूमा क्रिकेट खेल्ने महिला एकदुई जना मात्र भएको नेत्रहीन क्रिकेट संघका महासचिव अमृत बराल बताउँछन्।
सन् २०१७ मा दृष्टिविहीनहरूलाई क्रिकेट सिकाउन भारतबाट प्रशिक्षक आए। महासचिव बरालका अनुसार त्यति बेला तालिमका लागि नेपाली क्रिकेट प्रशिक्षक रिजन प्रजुलाई पनि आग्रह गरियो। प्रजु नेपाल क्रिकेट संघ गण्डकीको मुख्य प्रशिक्षक थिए। चार दिनको तालिमपछि उनी दृष्टिविहिनहरूका पनि प्रशिक्षक भए। त्यस बेलादेखि उनी नै दृष्टिविहीन क्रिकेट टिमको प्रशिक्षक छन्।
अहिले २०० जनाभन्दा बढी दृष्टिविहीन महिला क्रिकेट खेलिरहेका छन्। दृष्टिविहीन महिला क्रिकेट टोलीले सन् २०१४ मा बेलायत, २०१९ मा पाकिस्तान र २०२३ मा भारतसँग दुई वटा शृंखला खेलेको छ। यसमध्ये तीन वटा शृंखला नेपालले जितेको छ भने एउटामा हार बेहोरेको छ।
विनिताले हालसम्म तीन वटा अन्तर्राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिता खेलेकी छन्। उनी पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्नसन् २०१९ मा नेपाली टोलीसँगै पाकिस्तान पुगेकी थिइन्। भर्खर मात्र क्रिकेट खेल्न थालेका कारण उनले त्यहाँ एक खेलमा मात्र मौका पाइन्। नेपाली टोलीले पाँचमध्ये शुरूका चार खेल जित्दै शृंखला कब्जा गरेको थियो।
“पाकिस्तानमा अरूले खेलेको देखेर धेरै सिक्न पाएँ। त्यहाँबाट फर्किएपछि नियमित अभ्यास थालेँ,” उनी भन्छिन्। तर नेपालमा महिला दृष्टिविहीन क्रिकेट हुनै मुस्किल थियो।
गत वैशाख (२०२३ अप्रिल) मा नेपाल र भारतबीच पोखरा र काठमाडौँमा दृष्टिविहीन महिला क्रिकेट शृंखला आयोजना भएको थियो, त्यसमा पनि विनिताको प्रदर्शन राम्रो भयो। उनी ‘प्लेयर अफ द सिरिज’ भइन्। यही शृंखलामा उनले पहिलो शतक पनि प्रहार गरिन्। उनी दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। उनले विष्फोटक ब्याटिङ गर्दै ५७ बलमा नटआउट १११ रन बनाएकी थिइन्। उनको ब्याटबाट १७ चौका निस्किएको थियो।
भारतविरुद्ध पोखरामा भएको दोस्रो खेलमा उनले शतक बनाएकी थिइन्। खेल सकाएर काठमाडौँ आउँदा सामाजिक सञ्जालमा उनको चर्चा शुरू भइसकेको थियो। “काठमाडौँ पुग्ने बित्तिकै मोबाइल खोलेर हेर्दा फेसबुकमा रिक्वेस्टहरू आइरहेका थिए, फोटो शेयर भएका गु्रपहरूमा बधाईको ओइरो नै थियो, धेरैले फोन गरेर बधाई दिन थालेपछि खुशीको सीमा नै रहेन,” उनी भन्छिन्।
उक्त शृंखलाका पाँचमध्ये तीन खेलमा जित हासिल गर्दै नेपालले शृंखला जितेको थियो। विनिता ‘प्लेयर अफ द सिरिज’ घोषित भएकी थिइन्।
२०२३ डिसेम्बरमा भारतमा भएको अर्को शृंखलामा भने नेपाल १–४ ले पराजित भयो। उक्त खेलमा पनि विनिताको पदर्शन राम्रै थियो। त्यस प्रतियोगिताका पाँचमध्ये चार खेल नेपालले गुमाए पनि विनिता पुनः प्लेयर अफ द सिरिज भएकी थिइन्।
हुँदैनन् पर्याप्त प्रतियोगिता
विनिता ब्याटर र ‘पार्ट टाइम’ बलर हुन्। प्रशिक्षक प्रजुका अनुसार पहिला उनी ‘वान डाउन’ ब्याटिङ गर्थिन्। अहिले भने ओपनिङमा आउँछिन्।
तर घरेलु प्रतियोगिता नहुँदा दृष्टिविहीन क्रिकेट खेलाडीले थप निक्खारता हासिल गर्न सकेका छैनन्। अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका खेल नियमित नहुँदा खेलाडीको प्रदर्शन राम्रो नहुने प्रशिक्षक प्रजु बताउँछन्। “क्रिकेट आयोजना नहुँदा खेलाडीको लय बिग्रिएको छ। उनीहरू निरुत्साहित छन्,” उनले भने।
आर्थिक अभाव र व्यवस्थापनको समस्याका कारण दृष्टिविहीन महिला क्रिकेट आयोजना गर्न नसकिएको नेत्रहीन क्रिकेट संघका महासचिव अमृत बराल बताउँछन्। २०६४ सालमा नेपालमा विश्वमै पहिलो दृष्टिविहीन महिला टोली बनाइएको उनको भनाइ छ। अहिले विश्वका पाँच देशसँग मात्र दृष्टिविहिन महिला क्रिकेट टिम छन्। नेपालसहित भारत, पाकिस्तान, बेलायत र अस्ट्रेलियाले मात्र यस्तो टोली बनाएको नेत्रहीन क्रिकेट संघले जनाएको छ।
२०८० चैत्र १, बिहीबार