नेत्रहीन क्रिकेट संघ नेपाल ले अपाङ्गता खेलकुदको विकास र प्रवर्द्धनका लागि प्रतिनिधि सभा सदस्यहरूसँग परिचयात्मक तथा अन्तरक्रियात्मक (Meet & Greet) कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी खेलकुद विकास तथा नेत्रहीन क्रिकेटको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले अपाङ्गता खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरे पनि राज्यको प्राथमिकतामा अझै पछाडि परेको भन्दै एकीकृत पारालम्पिक समिति गठन, प्रादेशिक प्रशिक्षण केन्द्र स्थापना, समावेशी खेल संरचना निर्माण, नियमित बजेट व्यवस्था तथा छुट्टै नीति निर्माणको आवश्यकता औंल्याएका थिए। कार्यक्रममा माननीय अशुदा कुमारी बराल, माननीय गंगा छन्त्याल, माननीय प्रेम बहादुर बयाक, माननीय मदन कृष्ण श्रेष्ठ र माननीय रमेश प्रसाई लगायत विभिन्न राजनीतिक दलका सांसदहरूको सहभागिता रहेको थियो। उनीहरूले अपाङ्गता क्षेत्रको विकास, खेलकुदमा पहुँच विस्तार तथा नीतिगत सहयोगका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

